इतिहासकै कमजोर अवस्थामा कांग्रेस, सभापति गगन थापाको राजीनामा विवाद

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस ले इतिहासकै कमजोर प्रदर्शन गर्दै गम्भीर राजनीतिक झट्का व्यहोरेको छ । चुनावी परिणाम सार्वजनिक भएसँगै पार्टीभित्र पुनः विवाद चर्किएको छ । पार्टीभित्रको लामो विवादपछि गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डप मा सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको थियो । नेतृत्व पुस्तान्तरणपछि विशेषगरी युवा पुस्तामा उत्साह देखिएको थियो । ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित कांग्रेस चुनावी मैदानमा उत्रिएको थियो । तर ‘जेन–जी’ आन्दोलनपछि भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमै पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्दा नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ ।

यसअघि २०७४ सालको निर्वाचनमा वाम एकतासहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग प्रतिस्पर्धा गर्दा पनि कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो भने समानुपातिकतर्फ ४० सिट पाएको थियो । तर यसपटक कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा सीमित भएको छ भने समानुपातिकतर्फ बढीमा २० सिट पाउने अनुमान गरिएको छ ।

चुनावी परिणामपछि सभापति गगनकुमार थापा ले पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएको चर्चा छ । उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको भनाइ उद्धृत गर्दै भन्नुभएको छ, “पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, म राजीनामा दिन्छु।” तर उपसभापति शर्माले भने राजीनामा समाधान नभएको बताउँदै कांग्रेसको पुनर्जागरणका लागि थापाकै नेतृत्व आवश्यक रहेको बताएका छन् । उनका अनुसार चुनावी हार कुनै एक व्यक्ति वा विशेष महाधिवेशनको मात्र परिणाम नभई समग्र पार्टीको कमजोरीको परिणाम हो ।

यसैबीच, पार्टीभित्रको अर्को समूहले विशेष महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठाउँदै सभापति थापामाथि नैतिक दबाब बढाएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेताहरूले चुनावी पराजयलाई आधार बनाएर पार्टीभित्र आफ्नो प्रभाव पुनः स्थापित गर्ने प्रयास गरिरहेको चर्चा कांग्रेस वृत्तमा भइरहेको छ । कांग्रेसभित्र केही नेताहरूले देउवा, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह लगायत नेताहरूले चुनावमा सक्रिय भूमिका नखेलेको आरोपसमेत लगाइरहेका छन् । निर्वाचनकै समयमा शेरबहादुर देउवा विदेश भ्रमणमा रहेर मतदानसमेत गर्न नफर्किएको विषयले पनि विवाद बढाएको छ ।

पार्टीभित्रको विवाद चर्किँदै जाँदा अबको नेतृत्व र रणनीतिबारे गम्भीर बहस सुरु भएको छ । कतिपय नेताहरूले सभापति थापाले तत्काल राजीनामा दिएर उपसभापति विश्वप्रकाश शर्मा लाई कार्यवाहक जिम्मेवारी दिने र आगामी १५औँ महाधिवेशनमार्फत पुनः नेतृत्व चयन गर्ने विकल्पसमेत अघि सारेका छन् । यता, कांग्रेसका नेता चन्द्र भण्डारी ले भने अहिले राजीनामा समाधान नभएको भन्दै पार्टीलाई संकटबाट बाहिर निकाल्ने जिम्मेवारीबाट भाग्न नहुने बताएका छन् । उनका अनुसार नियमित महाधिवेशनतर्फ अग्रसर हुँदै संगठनलाई पुनर्जीवित गर्नु नै अहिलेको प्रमुख आवश्यकता हो ।

त्यस्तै नेता पूर्णबहादुर खड्का ले पनि निर्वाचन परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको उल्लेख गर्दै अस्वाभाविक महत्वाकांक्षा र आवेगबाट मुक्त भएर व्यापक एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् । यसबीच, सभापति गगनकुमार थापा स्वयं सर्लाही–४ बाट पराजित भएपछि संसद्मा कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने प्रश्न पनि उठेको छ । कांग्रेसका प्रमुख नेताहरू प्रदीप पौडेल, गुरुराज घिमिरे, शेखर कोइराला, विमलेन्द्र निधि, मीनेन्द्र रिजाल, एनपी साउद लगायत नेताहरू पनि संसद्बाहिर रहेपछि पार्टीभित्र थप अन्योल सिर्जना भएको छ ।

परिणामस्वरूप संसद्मा करिब दुई तिहाइ बहुमतसहित सरकार बनाउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई प्रभावकारी रूपमा खबरदारी गर्ने सशक्त प्रतिपक्षी भूमिका कांग्रेसले कसरी निर्वाह गर्ने भन्ने प्रश्न अहिले पार्टीभित्रको प्रमुख चिन्ताको विषय बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्