काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामअनुसार नयाँ सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने भएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० जना सदस्यको टुङ्गो लाग्न बाँकी रहेकाले सरकार गठन प्रक्रियामा केही समय लाग्ने भएको हो । नेपालको संविधान २०७२ को धारा ९३ (१) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । अधिवेशन आह्वान भएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
हालसम्म निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छैन । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अन्तिम परिणाम सार्वजनिक गर्न करिब एक साता लाग्नेछ । अन्तिम परिणाम घोषणा हुनुअघि आयोगले समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलले पाउने प्रतिनिधिसभा सदस्यको सङ्ख्या निर्धारण गर्नेछ । प्रवक्ता भट्टराईका अनुसार बुधबार बिहानसम्म समानुपातिकतर्फको मतगणना सकिने अपेक्षा गरिएको छ । त्यसपछि दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारमध्ये प्राप्त सिटअनुसार समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरिनेछ ।
दलहरूले पठाएको नाम कानुनअनुसार भए–नभएको परीक्षण, त्रुटि सच्याउने र रुजु गर्ने प्रक्रियामा करिब तीन दिन लाग्नेछ । त्यसपछि आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र उपलब्ध गराउनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६२ अनुसार निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । सो प्रतिवेदन प्राप्त भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवालीका अनुसार प्रतिवेदन प्राप्त भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्न सकिने भए पनि व्यवहारमा प्रायः एक साताभित्रै अधिवेशन बोलाउने अभ्यास रहेको छ ।
अधिवेशन आह्वान भएपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकमा प्रतिनिधिसभाका २७५ जना सदस्यले शपथ ग्रहण गर्नेछन् । त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले संसदीय दल गठन गर्ने प्रक्रिया सुरु गर्नेछन् । वरिष्ठ अधिवक्ता तथा प्राध्यापक विजयप्रसाद मिश्रका अनुसार बहुमत प्राप्त दलले आफ्नो संसदीय दलको नेता चयन गरी जानकारी गराएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार सोही दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् ।
हालको मतपरिणामअनुसार प्रतिनिधिसभामा छ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत प्राप्त गरेकाले सोही दलका संसदीय दलका नेता प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानअनुसार प्रतिनिधिसभा संसदीय दलको नेता चयन गर्न दलभित्र निर्वाचन गर्ने व्यवस्था रहेको छ । तर निर्वाचनअघि सो प्रक्रिया सम्पन्न गरिएको थिएन । पार्टीले निर्वाचनअघि आफ्ना वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो । गर्नुपर्ने हुन्छ । उहाँका अनुसार संसदीय दलको नेता चयन भएपछि मात्रै प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।







