काठमाडौं — नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव हुनुमा आपूर्तिको कमी नभई बिक्रेताहरूको अनियमितता र उपभोक्ताको अत्यधिक सञ्चय गर्ने प्रवृत्ति मुख्य कारण रहेको जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार हाल ग्यास आयातमा कुनै अवरोध छैन । उद्योगीहरूले पनि बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास आयात गरी पठाइरहेका छन् । तर, बजारमा उपभोक्ताले सहजै ग्यास नपाएको गुनासो बढेपछि निगम आपूर्ति प्रणालीमा देखिएको समस्या समाधानका लागि सक्रिय भएको छ । आयात तथा उद्योगबाट हुने उत्पादनमा कुनै कमी नहुँदा पनि बजारमा अभाव देखिएपछि निगमले ग्यास बिक्रेताहरूलाई उद्योगबाट प्राप्त परिमाणको विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ ।
अनियमितता रोक्न बिक्रेताहरूले बिक्री–वितरणको पारदर्शी अभिलेख राख्नुपर्ने र सोही आधारमा मात्र कारोबार गर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट मागअनुसार ग्यास आयात भइरहेको छ र उद्योगहरूले पनि बिक्रेतालाई पठाएको ग्यासको तथ्याङ्क निगमलाई उपलब्ध गराएका छन् । तर उपभोक्ताबाट भने ग्यास नपाएको गुनासो आइरहेकाले कृत्रिम अभाव हटाउन निगमले कडाइ गर्ने तयारी गरेको छ ।
ठाकुरका अनुसार अनावश्यक सञ्चय गर्ने प्रवृत्तिले पनि समस्या बढाएको छ । एकै व्यक्तिले चार–पाँच वटासम्म सिलिन्डर भरेर राख्दा तत्काल आवश्यक पर्ने सर्वसाधारण मर्कामा पर्ने गरेका छन् । उद्योगले पठाएको ग्यास र बिक्रेताले वितरण गरेको तथ्याङ्क मिलान गर्न सके कृत्रिम अभाव हट्न सक्ने निगमको भनाइ छ । सोही उद्देश्यले बिक्रेतालाई स्पष्ट विवरण राख्न निर्देशन दिइएको हो ।
ग्यास लुकाउने वा कालोबजारी गर्ने कार्यको अनुगमन गर्ने मुख्य जिम्मेवारी वाणिज्य विभागको रहेको छ । निगमले आपूर्ति पर्याप्त रहेको दाबी गरे पनि बजारमा देखिएको अभावले कालोबजारीको आशङ्का बढाएको भन्दै विभागबाट नियमित र प्रभावकारी अनुगमन आवश्यक रहेको देखिएको छ । हाल दैनिक करिब एक लाख सिलिन्डर ग्यासको माग रहेको छ र उद्योगहरूले सोही परिमाणमा बिक्रेतालाई ग्यास उपलब्ध गराइरहेका छन् । तर पनि बजारमा अभावको अवस्था पूर्ण रूपमा हट्न सकेको छैन ।







