काठमाडौं – हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गएको छ । विशेषगरी काठमाडौं, पोखरा लगायत देशका ठूला सहरका साथै तराईका अधिकांश स्थानमा प्रदूषणका मसिना कणको मात्रा दुई दशमलव पाँच तहसम्म पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागले आज एक अपिल जारी गर्दै वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मुखावरण प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न तथा फोहोर र बालीनालीका अवशेष नजलाउन आग्रह गरेको छ । त्यसैगरी वन–जङ्गलमा डढेलो नलगाउन र लागिहालेमा तुरुन्त निभाउने प्रयास गर्न, निर्माण कार्य गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न तथा उद्योग–कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा आग्रह गर्नुभएको छ ।
वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास आवश्यक रहेको उल्लेख गर्दै उहाँले सामूहिक प्रयासबाट मात्र प्रदूषण घटाउन सम्भव हुने बताउनुभयो । विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषणको मात्रा उच्च हुने गरेको छ । चिसो मौसमका कारण विभिन्न स्रोतबाट निस्किएको प्रदूषण छरिन नसक्नु तथा लामो समयदेखि वर्षा नहुनु पनि यो याममा वायु प्रदूषण बढ्नुको प्रमुख कारण रहेको बताइएको छ ।








