आजपनि काठमाडौँ उपत्यकामा वायु प्रदूषण अस्वस्थकर तहमा

काठमाडौँ — काठमाडौँ उपत्यकामा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एयर’ का अनुसार केही दिनयता काठमाडौँ उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको छ ।

हिजो काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८४ पुगेको थियो, जुन स्वास्थ्यका हिसाबले निकै अस्वस्थ मानिन्छ । हिजो काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो नम्बरमा पुगेको थियो भने आज बिहान वायु गुणस्तर सूचकाङ्क बढेर १८८ पुगेको छ । १८८ सूचकाङ्क हुँदा काठमाडौँ विश्वको चौथो प्रदूषित सहरको सूचीमा परेको छ ।

आज बिहान पाकिस्तानको लाहोर २३० सूचकाङ्कसहित पहिलो, भारतको राजधानी दिल्ली २०८ सूचकाङ्कसहित दोस्रो र बङ्गलादेशको ढाका २०२ सूचकाङ्कसहित तेस्रो स्थानमा रहेका छन् ।

काठमाडौँमा बढ्दो सवारी साधनको चाप, देशका विभिन्न भागमा लागिरहेको डढेलो तथा आकाश धुम्म भएर वर्षा नपर्दा हावा थप दूषित बन्दै गएको विज्ञहरूले बताएका छन् । प्रदूषित हावाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दम, निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी रोग भएका बिरामीलाई गम्भीर असर पुर्‍याउन सक्छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट जोगिन सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा प्रदूषण बढेकाले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौलालगायत स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गर्नुभएको छ ।

दीर्घरोगी, गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सकेसम्म बाहिर ननिस्कन तथा निस्कनै परे मुखावरण प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ । विशेषगरी बिहान र बेलुकाको समयमा बाहिर कम निस्कन तथा धुलोधुवाँबाट जोगिने उपाय अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार यो हप्ताभर काठमाडौँ उपत्यकामा प्रदूषणको अवस्था कायम रहने सम्भावना रहेको छ । आज पनि काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्