आधिकारिक सूचना पालना गर्न नेपालीलाई कुवेतस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । कुवेतमा रहेको नेपाली दूतावासले त्यहाँका आधिकारिक निकायहरूले जारी गरेका सूचना तथा निर्देशन पालना गर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ । दूतावासले सूचना जारी गर्दै मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै सजगता अपनाउन नेपालीहरूलाई आग्रह गरेको हो ।

इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि कुवेतस्थित नेपाली दूतावासले तेस्रो पटक यस्तो आग्रह गरेको जनाएको छ । कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सञ्चालन हुने भएकाले त्यसबारे अद्यावधिक जानकारीका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा सम्बन्धित वायुसेवा कम्पनी वा ट्राभल एजेन्सीसँग सम्पर्कमा रहन दूतावासले अनुरोध गरेको छ ।

दूतावासका अनुसार कुवेत सरकारले त्यहाँ रहेका भिजिट भिसाबाहेक अन्य सबै प्रकारका भिसाको अवधि एक महिनाका लागि थप गरेको छ । यस्तै कुवेत बाहिर रहेका कुवेतको सिभिल परिचयपत्रवाहकका हकमा विगतमा कम्पनीमा कार्यरत श्रमिकले ६ महिनाभन्दा बढी तथा घरेलु कामदारले ४ महिनाभन्दा बढी कुवेत बाहिर बसेमा सिभिल परिचयपत्र रद्द हुने व्यवस्था थियो । उक्त व्यवस्थामा संशोधन गर्दै ४ महिनामा थप ३ महिना समय दिइएको दूतावासले जनाएको छ ।

कुवेतमा रहेका नेपाली नागरिकलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेमा अत्यावश्यक सेवाका लागि नेपाली दूतावास नियमित रूपमा खुला रहेको पनि दूतावासले जानकारी दिएको छ । हाल कुवेतमा करिब १ लाख ७५ हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्