काठमाडौं – राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि गएको माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम नवनिर्वाचित सदस्यलाई शपथ गराउनुहुने कार्यक्रम रहेको छ ।
शपथ ग्रहणका लागि सदस्यहरू आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ । नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानूनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ । निर्वाचन आयोगका अनुसार गएको माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा निर्वाचित भएका छन् ।
मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।







