टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, फाइनलमा न्युजिल्यान्ड ९६ रनले पराजित

काठमाडौँ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् टी-२० विश्वकपको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै उपाधि जितेको छ । यससँगै भारत टी-२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ । भारतले सन् २००७, २०२४ र २०२६ मा टी-२० विश्वकपको उपाधि जितेको हो ।

फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको थियो । तर न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भएपछि भारत सहज जितसहित लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन बनेको हो ।

भारतको जितमा बलर र ब्याट्सम्यान दुवैले उत्कृष्ट प्रदर्शन गरे । जसप्रीत बुमराहले चार ओभरमा १५ रन मात्र खर्चेर चार विकेट लिए । त्यस्तै अक्षर पटेलले तीन ओभरमा २७ रन दिँदै तीन विकेट लिएर महत्वपूर्ण भूमिका खेले ।

यसअघि सञ्जु सामसन, इशान किशन र अभिषेक शर्माको आक्रामक ब्याटिङका कारण भारतले २० ओभरमा २ सय ५५ रनको विशाल स्कोर बनाएको थियो । जसप्रीत बुमराह उत्कृष्ट प्रदर्शनका लागि ‘खेलको उत्कृष्ट खेलाडी’ घोषित भए भने लगातार तीन अर्धशतक बनाएका सञ्जु सामसन ‘प्रतियोगिताको उत्कृष्ट खेलाडी’ बने ।

२ सय ५६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको न्युजिल्यान्ड सुरुदेखि नै दबाबमा देखियो । ओपनर टिम सिफर्टले २६ बलमा ५२ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । कप्तान मिचेल स्यान्टनरले ४३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्ततः न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै समेटियो ।

भारतका लागि सञ्जु सामसन र अभिषेक शर्माले आक्रामक सुरुआत दिलाए । चार ओभरमै भारतले बिना विकेट ५० रन पार गरेको थियो । अभिषेक शर्माले १८ बलमै अर्धशतक पूरा गरे भने पावरप्लेमा भारतले ९२ रन बनायो, जुन टी-२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो पावरप्ले स्कोर हो ।

त्यसपछि इशान किशन र सञ्जु सामसनले रनको गति कायम राख्दै दोस्रो विकेटका लागि ४५ बलमा १०० रनको साझेदारी गरे । सञ्जु सामसनले ३३ बलमा अर्धशतक पूरा गर्दै ८९ रन बनाए भने इशान किशनले ५४ रन जोडे । अन्तिम ओभरमा शिवम दुबेले ८ बलमा २६ रन बनाउँदै भारतलाई २ सय ५५ रनसम्म पुर्‍याए ।

भारतीय टोलीले पछिल्ला २० महिनामा तेस्रो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् उपाधि जितेको हो । जुन २०२४ मा भारत टी-२० विश्वकप च्याम्पियन बनेको थियो भने २०२५ मा च्याम्पियन्स ट्रफी जितेको थियो । अब २०२६ मा फेरि टी–२० विश्वकप जित्दै भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दबदबा कायम राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्