मकैको खोस्टाबाट झोला तथा हस्तकला सामग्री बनाउँदै अपिहिमालका महिला

दार्चुला – अपिहिमाल गाउँपालिकामा सञ्चालन गरिएको एक महिने सीपमूलक तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा मैकैको खोस्टाबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सीप प्रदान गरिएको थियो ।

तालिम समापन कार्यक्रम नारी दिवसकै दिन परेकाले यसको विशेष महत्व रहेको आयोजकले जनाएको छ । तालिममार्फत स्थानीय महिलाहरूलाई सीपयुक्त बनाई उद्यमशील बन्न प्रेरित गर्ने तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्य राखिएको गाउँपालिकाले जनाएको छ ।

तालिमका क्रममा सहभागी महिला दिदीबहिनीहरूले मैकैको खोस्टाबाट लेडिज झोला, टोपी, गिलास, कलशलगायत विभिन्न आकर्षक सामग्री उत्पादन गरेका छन् । स्थानीय स्तरमै पाइने कच्चा पदार्थको प्रयोग गरी हस्तकलाका सामग्री उत्पादन गर्न सकिने सम्भावना यस तालिमले देखाएको सहभागीहरूको भनाइ छ ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगत सिँह ठेकरे बोहराले महिलाको सीप र उद्यमशीलता गाउँपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अपिहिमालमा स्थानीय स्रोत र सीपको उपयोग गरेर महिलालाई आत्मनिर्भर बनाउने हाम्रो प्रयास हो । निगालो, बाँस तथा मकैको खोस्टाबाट विभिन्न सामग्री उत्पादन गरी आयआर्जनको बाटो खोल्न सकिन्छ । महिलाहरू उद्यमी बन्न सके गाउँपालिकाको आर्थिक अवस्था पनि बलियो बन्छ ।”

गाउँपालिकाले यसअघि पनि निगालो तथा बाँसबाट सामग्री बनाउने तालिम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि स्थानीय उत्पादनमा आधारित सीपमूलक तालिमलाई निरन्तरता दिँदै महिला उद्यमशीलतालाई थप प्रोत्साहन गरिने गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्