काठमाडौं – भदौ २३ र २४ मा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालविरुद्ध फौजदारी अभियोगमा कारबाही गर्न सिफारिस गरेको छ । आयोगको उच्च स्रोतका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ तथा महानगरीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ । यसैगरी आन्दोलनका क्रममा कसले र कति गोली चलायो भन्ने विषयमा विस्तृत छानबिन गर्न प्रहरीमा उच्चस्तरीय समिति गठन गरी संलग्न व्यक्तिलाई कारबाही गर्न पनि आयोगले सुझाव दिएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले १६५ दिन लगाएर अनुसन्धान पूरा गरेपछि आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो । आयोगमा सदस्यका रूपमा विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी रहेका थिए । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँले प्रतिवेदनको विस्तृत अध्ययनपछि सम्भव भएसम्म पूर्ण दस्तावेज सार्वजनिक गर्ने, नसके कम्तीमा निचोड भए पनि सार्वजनिक गरिने जानकारी दिनुभयो ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीपूर्वक काम गरेको र कुनै पूर्वाग्रह नराखी देखिएको तथ्यलाई प्रतिवेदनमा समेटिएको बताउनुभयो । भविष्यमा यस्ता घटना नदोहोरिन आवश्यक सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको उहाँको भनाइ थियो ।
आयोगका सदस्य विज्ञानराज शर्माले प्रतिवेदन जाँचबुझको प्रतिवेदन भएकाले अब सम्बन्धित निकायले थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउनुपर्ने बताउनुभयो । अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासन प्रवर्द्धनका लागि प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्न सके देशको अवस्था सकारात्मक रूपमा परिवर्तन हुन सक्ने धारणा राख्नुभयो ।
१६५ दिनको अनुसन्धानपछि तयार पारिएको उक्त प्रतिवेदन अब मन्त्रिपरिषद्मा पेस गरिने जनाइएको छ ।







