इलाम, फागुन २४ गते । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २२ हजार ४२६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् । नेम्वाङले आचार्यलाई ७ हजार ७५० मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस पटक नयाँ दलका रूपमा निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले पनि उल्लेख्य मत प्राप्त गरेका छन् । उनले १४ हजार ४०० मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् ।
संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनपछि २०८१ सालमा सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेका सुहाङ नेम्वाङ पुनः निर्वाचनमा विजयी भएका हुन् । २०८१ को उपनिर्वाचनमा उनले २७ हजार ७७२ मत प्राप्त गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई पराजित गरेका थिए । त्यसपछि सुरु भएको उनको संसदीय यात्रा १६ महिनापछि फेरि मतदाताको समर्थनसहित निरन्तर भएको छ ।







