काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अहिलेसम्म ३० वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वाधिक २२ क्षेत्रमा विजय हासिल गरेको छ।
यसैगरी नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २, नेकपा एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन्।
मतगणना जारी रहेका अन्य क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरू अगाडि रहेको देखिएको छ। हालसम्मको अग्रता अनुसार रास्वपा ९४, कांग्रेस १०, एमाले १२, नेकपा ११, श्रम संस्कृति पार्टी ४ र राप्रपा १ क्षेत्रमा अगाडि रहेका छन्।
रास्वपाबाट विजयी प्रमुख उम्मेदवार
रास्वपाका सभापति रवि लामिछाने चितवन-२ बाट तेस्रोपटक विजयी भएका छन्। उनले ५४ हजार ४०२ मत ल्याउँदा नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेका छन्।
यसैगरी भक्तपुर-१ बाट रुकेश रन्जित, काठमाडौँ-२ बाट सुनिल केसी, महोत्तरी-१ बाट प्रमोदकुमार महतो, स्याङ्जा-१ बाट धनञ्जय रेग्मी, बाँके-१ बाट सुरेशकुमार चौधरी, बाँके-३ बाट खगेन्द्र सुनार, रुपन्देही-४ बाट कन्हैया बनिया, मोरङ-६ बाट रुविना आचार्य, काठमाडौँ-९ बाट डीपी अर्याल, धनुषा-३ बाट मनिष झा, मोरङ-४ बाट सन्तोष राजवंशी, कास्की-३ बाट बिना गुरुङ, काठमाडौँ-१० बाट प्रदीप बिष्ट, कास्की-२ बाट उत्तमप्रसाद पौडेल, काठमाडौँ-५ बाट सस्मित पोखरेल, काठमाडौँ-४ बाट पुकार बम, काठमाडौँ-७ बाट गणेश पराजुली, काठमाडौँ-३ बाट राजुनाथ पाण्डे, काठमाडौँ-८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौँ-६ बाट शिशिर खनाल र काठमाडौँ-१ बाट रञ्जु न्यौपाने (दर्शना) विजयी भएका छन्।
कांग्रेसबाट विजयी
नेपाली कांग्रेसबाट तेह्रथुममा सन्तोष सुब्बा, दैलेख-१ मा बासना थापा, रसुवा-१ मा मोहन आचार्य, मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन्।
नेकपाबाट विजयी
नेकपाबाट कालिकोटमा महेन्द्रबहादुर शाही र रुकुमपूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।
एमालेबाट विजयी
बाँके–२ बाट नेकपा एमालेका मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मतसहित निर्वाचित भएका छन्।
स्वतन्त्र उम्मेदवार
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मतगणना जारी रहेका अन्य क्षेत्रहरूको नतिजा क्रमशः सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।







