काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना भइरहेका काठमाडौँका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम गरेका छन् । दिउँसो १ बजेसम्म प्राप्त मतपरिणामअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले ५ हजार ८९७ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्मा २ हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तिदेवी पोखरेल १ हजार ४६९ मतसहित पछ्याइरहेका छन् ।
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे ६ हजार ५८४ मतसहित अग्रस्थानमा छन् । उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ४ हजार २२० मत प्राप्त गरेका छन् भने कांग्रेसका रमेश अर्यालले २ हजार १९० मत ल्याएका छन् । काठमाडौँ–४ मा रास्वपाका पुकार बम ६ हजार २८४ मतसहित अगाडि छन् । कांग्रेसका सचिन तिमिल्सिनाले १ हजार ९०७ र नेकपा (एमाले) का राजन भट्टराईले १ हजार ४७९ मत पाएका छन् । काठमाडौँ–५ मा रास्वपाका सस्मित पोखरेल ११ हजार ४३३ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका प्रदीप पौडेलले ३ हजार ५५६ र एमालेका ईश्वर पोखरेलले १ हजार ९०८ मत ल्याएका छन् ।
काठमाडौँ–६ मा रास्वपाका शिशिर खनालले १० हजार ६१५ मत ल्याएर अग्रता कायम गरेका छन् । कांग्रेसका सबुजकृष्ण बानियाँ क्षेत्रीले २ हजार ७७५ र एमालेका अमनकुमार मास्केले १ हजार ६१२ मत प्राप्त गरेका छन् । काठमाडौँ–७ मा रास्वपाका गणेश पराजुली १० हजार २७३ मतसहित अगाडि छन् । एमालेका प्रकाश श्रेष्ठले १ हजार ६७२ र नेपाल कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले १ हजार ३८९ मत ल्याएका छन् । काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ १४ हजार ७५१ मतसहित अग्रस्थानमा छन् । नेपाल कम्युनिस्ट पार्टीका सुमन सायमीले १ हजार ९९५ र कांग्रेसकी सपना राजभण्डारीले १ हजार ६४५ मत पाएकी छन् ।
काठमाडौँ–९ मा रास्वपाका डोलप्रसाद अर्याल ५ हजार ५५९ मतसहित अगाडि छन् । कांग्रेसकी नानुमैयाँ बास्तोलाले १ हजार ११६ र एमालेका अजयक्रान्ति शाक्यले ९७० मत ल्याएका छन् । त्यसैगरी काठमाडौँ–१० मा रास्वपाका प्रदीप विष्ट ८ हजार ५०८ मतसहित अग्रता कायम गरिरहेका छन् । कांग्रेसका हिमाल कार्कीले २ हजार ५६ र एमालेका विनोद श्रेष्ठले १ हजार २२१ मत ल्याएका छन् । यसअघि काठमाडौँ–१ मा भने रास्वपाकी रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भइसकेकी छन् ।







