काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन नेकपा एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी विष्टले १ हजार ८ सय ६ मत पाए । गौचनले १ हजार ५ सय १ मतान्तरले जित निकालेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरेका छन् भने अन्य दलका उम्मेदवारले निकै कम मत पाएका छन् ।
गौचन यसअघि पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । २०७९ सालको निर्वाचनमा उनले ३ हजार ९ सय ९६ मत ल्याएर एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका योगेश गौचन थासाङ गाउँपालिका–लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् र पर्यटन तथा होटल व्यवसायमा पनि संलग्न छन् ।







