बुटवल । रुपन्देहीको बुटवलस्थित नमोबुद्ध होटलमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताले पैसा बाँडेको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि आक्रमण गरेको आरोप लागेको छ। झडपमा रास्वपामा आबद्ध सैनामैनाका पूर्वमेयर चित्र बहादुर केसीसहित तीन जना घाइते भएको जनाइएको छ। रुपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका रास्वपाका सुलभ खरेल बसेको होटलमा एमाले कार्यकर्ता पुगेर ‘पैसा किन बाँडेको?’ भन्दै विवाद सुरु भएको बताइएको छ।
एमाले निकट बाबुराम पन्थी समूह र रास्वपाका कार्यकर्ताबीच झगडा भएको प्रहरीले जनाएको छ। रुपन्देहीका प्रहरी प्रमुख एसपी जनक शाहीका अनुसार झडपमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको छ। रास्वपाका समानुपातिक उम्मेदवार मञ्जु भुसालले भने बैठक बसिरहेका बेला एमालेका कार्यकर्ताले आक्रमण प्रयास गरेको आरोप लगाइन्। उनले हारको मानसिकताका कारण एमाले कार्यकर्ता आक्रमणमा उत्रिएको दाबी गरिन्।
यता एक स्थानीय व्यवसायीले भने रास्वपाका केही व्यक्ति होटलमा पैसा बाँड्ने योजनासहित आएको र एमाले कार्यकर्ता पुगेपछि झडप भएको दाबी गरेका छन्। उनका अनुसार पैसा भएको झोला लिएर एक व्यक्ति भाग्न सफल भएका थिए। उक्त नमोबुद्ध होटल बुटवल बसपार्क अगाडि पर्छ। घटनाबारे इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान भइरहेको जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको अघिल्लो दिन भएको यस घटनाले क्षेत्रको राजनीतिक माहोल थप तातेको छ।







