वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार ४६ वर्षीय मनोज चौधरी प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीका अनुसार फागुन १९ गते राति सवा १० बजेतिर पर्सागढी नगरपालिका–३ बढनियार बजारमा संयुक्त चेकिङका क्रममा बा १० च १२५० नम्बरको गाडी रोकेर जाँच गर्दा गाडीको डिक्कीभित्र टिनको बक्सामा पहेँलो टेपले बेरिएको चौपाटे आकारको शंकास्पद वस्तु फेला परेको थियो। त्यसपछि उम्मेदवार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ का ३० वर्षीय सुरज कार्की, पर्सागढी–३ का ६८ वर्षीय सत्यनारायण दास थारू र बाराको प्रसौनी गाउँपालिका–४ का २६ वर्षीय सहाब आलम अन्सारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदीपराज पाठकले गाडीमा ‘होक्स’ (विष्फोटक पदार्थजस्तो शंकास्पद वस्तु) भेटिएको जानकारी दिए।
उक्त शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले बुधबार बिहान निष्क्रिय पारेको छ। साँच्चिकै बम थियो वा ‘होक्स’ मात्रै हो भन्ने विषयमा थप परीक्षणका लागि नमुना पठाइने प्रहरीको भनाइ छ।
यसैबीच, वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट सुतली बम, सुँगुरको टाउको र वाइरिङ तारसहित तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उम्मेदवार मनोजसहित पक्राउ परेका सात जनाविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसुर, सार्वजनिक शान्ति विरुद्धको कसुर र निर्वाचन सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको जनाएको छ। सम्बन्धित कानुनअनुसार दोषी ठहर भए कैद र जरिवानाको व्यवस्था रहेको छ।
यता नेकपाले भने आफ्ना उम्मेदवारविरुद्ध षड्यन्त्र भएको दाबी गरेको छ। पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले पत्रकार सम्मेलन गर्दै निर्वाचन जित्ने सम्भावना देखिएपछि उम्मेदवारलाई योजनाबद्ध रूपमा फसाइएको आरोप लगाए। उनले गाडीको डिक्की बिग्रिएको अवस्थामा षड्यन्त्रपूर्वक सामग्री राखिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।








