काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग ले प्रतिनिधिसभा निर्वाचनको दिन देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मतदान प्रक्रिया प्रभावित हुने गरी वर्षा वा हिमपातको सम्भावना नरहेको छ। तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक सातासम्मको यथार्थपरक मौसम पूर्वानुमान जारी गरिरहेको र विशेष बुलेटिनसहित नियमित अद्यावधिक दिइरहेको उनले जानकारी दिए।
लामो समयदेखि वर्षा नभएकाले केही पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल वर्षा वा हिमपातको सम्भावना नरहेको विभागको भनाइ छ। भोलि बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुन सक्ने अनुमान गरिएको छ। यद्यपि बादल लागे पनि चिन्ताजनक अवस्था नरहेको पौडेलले स्पष्ट पारे।
आउँदो शनिबारसम्म मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। निर्वाचन आयोग का अनुसार शुक्रबारसम्म सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरिसक्ने योजना रहेकाले मतदान तथा मतपेटिका सङ्कलन दुवै कार्यमा मौसमले असर नगर्ने देखिएको छ।







