काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक) ले प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता उत्साहित रहेको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ।
स्थलगत अवलोकन तथा कल सेन्टरमा प्राप्त सूचनाका आधारमा तयार पारिएको प्रतिवेदनमा समग्र निर्वाचनपूर्वको वातावरण शान्तिपूर्ण र व्यवस्थापकीय दृष्टिले व्यवस्थित रहेको उल्लेख गरिएको छ। जियोकले मतदान तयारी, राजनीतिक दलको सहभागिता, समन्वय, निर्वाचन सुरक्षाको अवस्था र आयोगको तयारीबारे अध्ययन गरेको जनाएको छ।
जियोकका महासचिव कृष्णमान प्रधानका अनुसार राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, प्रेस, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँगको भेटघाट तथा संवादका आधारमा प्रतिवेदन तयार गरिएको हो। प्रतिवेदनमा “समग्रमा निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने आधार तयार भएको” उल्लेख छ।
राष्ट्रिय पर्यवेक्षक प्राध्यापक चिरञ्जीवी खनालले निर्वाचन तयारी तीव्र गतिमा अघि बढिरहेको, कर्मचारी मतदानस्थलमा पुगिसकेको र सुरक्षा निकाय संवेदनशीलताका साथ तैनाथ रहेको जानकारी दिए। उनका अनुसार यसपटक राजनीतिक दलहरू गाउँटोलमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा केन्द्रित भएका छन्।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अभियन्ता हरिविनोद अधिकारीले पनि निर्वाचनका लागि शान्तिपूर्ण वातावरण रहेको र मतदान केन्द्रमा आवश्यक स्रोतसाधनसहित कर्मचारी खटिइरहेको बताए। अन्य राष्ट्रिय पर्यवेक्षक गणेशमान प्रधान र डा. मिनेन श्रेष्ठले अधिकांश मतदान केन्द्र विद्यालय तथा वडा कार्यालय भवनमा रहेकाले मतदातामैत्री वातावरण रहेको जनाएका छन्।
जियोकले सातै प्रदेशका ३६ जिल्लाका २५० स्थानीय तहमा करिब ४०० पर्यवेक्षक खटाएर निर्वाचनपूर्वको अवस्थाबारे अध्ययन गरेको जनाएको छ। प्रतिवेदनमा जिल्लामा एकीकृत सुरक्षा योजना कार्यान्वयन तथा प्रशासनिक र सुरक्षात्मक तयारी सन्तोषजनक रहेको उल्लेख गरिएको छ।







