वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दुई फरक जिल्लाबाट दुई जना उम्मेदवार पक्राउ परेका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतका अनुसार गाडीबाट केही शंकास्पद वस्तु फेला परेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस विषयमा चाँडै पत्रकार सम्मेलनमार्फत थप जानकारी सार्वजनिक गरिने बताइएको छ।
यसैबीच, जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। प्रहरीका अनुसार मौन अवधिका बेला नगदसहित उनी पक्राउ परेका हुन्।
निर्वाचनको संवेदनशील समयमा उम्मेदवारहरू नै पक्राउ परेपछि सम्बन्धित क्षेत्रमा राजनीतिक तरंग उत्पन्न भएको छ। प्रहरीले दुवै घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।








