अमेरिकाको टेक्सासमा मधेशी एकता समाजद्वारा भव्य होली उत्सव

काठमाडौं- अमेरिकास्थित मधेशी एकता समाज अमेरिका को आयोजनामा टेक्सास राज्यको इरभिङमा  फागुन १६ गते शनिबार भव्य रूपमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ।

समाजको टेक्सास च्याप्टरद्वारा आयोजित ‘होली धमाका’ कार्यक्रममा एक सयभन्दा बढी समुदाय सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। रंग–अबिरसहित विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका उक्त कार्यक्रममा सहभागीहरूले आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको सन्देश प्रवाह गरेका थिए।

कार्यक्रमको अध्यक्षता टेक्सास च्याप्टरका अध्यक्ष सुरेन्द्र रामले गर्नुभएको थियो। उहाँले प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उपस्थित सबैलाई होली पर्वको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष सञ्जय ज्यामिरेको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी विशेष अतिथिका रूपमा नेपाली महावाणिज्य दूतावास डल्लासका प्रवक्ता प्रवीण भण्डारी, युलेस सिटीका उप–मेयर टीका पौडेल, नेपालिज सोसाइटी अफ टेक्सासका अध्यक्ष विजय भुसाल, इन्द्रेणी समाजका अध्यक्ष नेत्र पाण्डे, समाजका अन्तर्राष्ट्रिय उपाध्यक्ष शशी यादव तथा सामाजिक अभियन्ता अमरनाथ साहलगायत विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वक्ताहरूले होली पर्वले विविधताबीच एकता कायम गर्ने, सम्बन्ध सुदृढ बनाउने र सांस्कृतिक पहिचान जोगाइराख्ने महत्वपूर्ण सन्देश दिने उल्लेख गरे। प्रवासमा रहेका नेपाली समुदायबीच सहकार्य, सद्भाव र आपसी सहयोगलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा पनि व्यक्त गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, सहभागी तथा स्वयंसेवकहरूप्रति आयोजक संस्थाले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्