काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ। यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
आयोगले सवारीसाधन सञ्चालनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुरूप पास आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएको छ। आयोगले नेपाल सरकारलाई सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास नचाहिने व्यवस्था मिलाउन सिफारिस गरेको उल्लेख गरेको छ।
आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक पर्नेछैन। त्यस्तै दूरसञ्चार सेवा, खानेपानी, विद्युत् तथा ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (चिकित्सक र स्वास्थ्यकर्मीलाई घर–अस्पताल आवतजावतका लागि) पनि पासबिना सञ्चालन गर्न सकिनेछ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पनि पास आवश्यक नपर्ने आयोगले जनाएको छ।
त्यस्तै हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शिशु बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि निर्वाध सञ्चालन गर्न सकिनेछ।
नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन तथा पर्यवेक्षणका सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सहज रूपमा सञ्चालन हुनेछन्।
यसैबीच गृह मन्त्रालय, निर्वाचन आयोग तथा जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको छ। सो डेस्कमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी हुने सवारी पाससमेत वितरण भइरहेको आयोगले स्पष्ट पारेको छ।







