भीमेश्वर एकेडेमीको अभिभावक दिवस २०८२ तथा २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको भीमेश्वर एकेडेमीको अभिभावक दिवस २०८२ तथा २०औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहका प्रमुख अतिथि डा. महाश्रम शर्मा (राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष) ले भीमेश्वर एकेडेमीले दुई दशकको यात्रामा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो। उहाँले शिक्षा केवल परीक्षामुखी नभई व्यवहारिक, सीपमूलक र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै विद्यालयले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। “विद्यालयले अनुशासन, परिश्रम र नैतिक शिक्षालाई सँगसँगै अघि बढाउन सके मात्र राष्ट्रका लागि सक्षम नागरिक उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित कागेश्वरी मनोहरा नगरपालिका–९ का वडा अध्यक्ष अनिल थापाले विद्यालयले स्थानीय तहमा गुणस्तरीय शिक्षा प्रवाह गर्दै समुदायको विश्वास जित्न सफल भएको बताउनुभयो। उहाँले भीमेश्वर एकेडेमीले शैक्षिक उपलब्धिसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा आवश्यक सहकार्य र सहयोग गर्न वडा कार्यालय प्रतिबद्ध रहेको धारणा व्यक्त गरे। “यो विद्यालय यस क्षेत्रको शैक्षिक गौरवका रूपमा स्थापित भएको छ,” उहाँले भन्नुभयो।

विद्यालयका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्काले २० वर्षको यात्रामा साथ दिने अभिभावक, शिक्षक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी शैक्षिक वर्षदेखि प्रविधिमैत्री शिक्षामा अझै जोड दिने घोषणा गर्नुभयो। उहाँले आगामी शैक्षिक बर्षमा सूचना प्रविधिमा थप योजना ल्याउने बताउनुभयो । “समयको मागअनुसार प्रविधिसँग जोडिएको शिक्षा अपरिहार्य छ। हामी विद्यार्थीलाई प्रतिस्पर्धी र सक्षम बनाउन नवीन अभ्यासहरू लागू गर्नेछौँ,” उहाँले बताउनुभयो ।

समारोहका अवसरमा शैक्षिक सत्रभर उत्कृष्ट नतिजा ल्याउने, अनुशासन, खेलकुद, सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विभिन्न प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई आकर्षक बनाएका थिए।

उत्साहपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले विद्यालयको २० वर्षे सफल यात्रालाई स्मरणीय बनाएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्