काठमाडौं । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न तथा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले सचेत रहन अपिल गरेको हो।
दूतावासले विज्ञप्ति जारी गर्दै संयुक्त अरब इमिरेट्स सरकार तथा नेपाली दूतावास/महावाणिज्य दूतावासबाट जारी गरिएका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको छ। मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
विज्ञप्तिमा विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्रै विश्वास गर्न भनिएको छ।
दूतावासका अनुसार आपतकालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
अबुधाबीस्थित दूतावासको आपतकालीन सम्पर्क नम्बर +९७१ ५० ८१८०२८० र इमेल ठेगाना [email protected] सार्वजनिक गरिएको छ। त्यसैगरी दुबईस्थित महावाणिज्य दूतावासको फोन/ह्वाट्सएप नम्बर +९७१ ५० ३९४९३०४ रहेको दूतावासले जनाएको छ।








