प्रतिनिधिसभा चुनाव: ३४०६ उम्मेदवारमध्ये १६७० ले मात्र खोले बैंक खाता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्रै बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार अझै आधाभन्दा बढी उम्मेदवारले अनिवार्य बैंक खाता सञ्चालन गरेका छैनन्।

६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहे पनि हालसम्म ११ दलले मात्र निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेका छन्। खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टीराष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।

निर्वाचन आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहयोगको पारदर्शिता सुनिश्चित गर्न, निर्वाचन कानुनले तोकेको खर्च सीमाको पालना गराउन तथा प्रभावकारी निगरानीका लागि अनिवार्य रूपमा बैंक खाता खोल्ने व्यवस्था गरिएको जानकारी दिनुभयो।

आयोगले तोकिएको समयभित्रै बैंक खाता सञ्चालन गरी सम्पूर्ण चुनावी आर्थिक कारोबार सोही खातामार्फत गर्न उम्मेदवार र दललाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्