काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको होली पर्व मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै होली मनाउँदा शान्ति–सुरक्षा अवस्था र फागुन २१ गते हुने निर्वाचनलाई विशेष ध्यान दिन सबैलाई अनुरोध गरेको हो। प्रशासनका अनुसार धार्मिक तथा सांस्कृतिक रूपमा आ–आफ्नो घर परिसरभित्र परिवारजन र साथीभाइसँग होली मनाउन कुनै रोक नहुनेछ। तर खुला सडक तथा सार्वजनिक स्थानमा अनावश्यक भीडभाड नगर्न, जाँड–रक्सी बिक्री–वितरण तथा सेवन नगर्न स्पष्ट आग्रह गरिएको छ।
निर्वाचनलाई लक्षित गर्दै लागू भएको निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिँदै प्रशासनले जुलुस, आमसभा वा प्रचारप्रसारका क्रममा उम्मेदवारको चुनाव चिह्न, झण्डा, स्टिकर अङ्कित टोपी, टी–शर्ट, ज्याकेट, झोला वा अन्य सामग्री प्रयोग गर्न नपाइने जनाएको छ।
यस्तै, कसैको इच्छा विपरीत रङ्ग वा पानी हाल्ने, मादक पदार्थ सेवन गरी सार्वजनिक मर्यादा भङ्ग गर्ने, होहल्ला तथा अराजक गतिविधि गर्ने कार्य कानुनविपरीत हुने चेतावनी प्रशासनले दिएको छ। उल्लङ्घन गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने पनि सूचनामा उल्लेख छ।
यस वर्ष होली पर्व काठमाडौँलगायत पहाडी जिल्लामा फागुन १८ गते र तराई–मधेशका जिल्लामा फागुन १९ गते मनाइँदैछ। प्रशासनले सबै नागरिकलाई सभ्य, सुरक्षित र अनुशासित रूपमा पर्व मनाउन अपिल गरेको छ।







