श्रीलंका । श्रीलंका राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकपको सुपर एट चरणबाट एक खेल अगावै बाहिरिएको छ। कोलोम्बोमा हिजो भएको खेलमा न्युजिल्यान्ड राष्ट्रिय क्रिकेट टोलीसँग ६१ रनले पराजित भएपछि श्रीलंकाको सेमिफाइनल यात्रा टुंगिएको हो।
न्युजिल्यान्डले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्रै बनाउन सक्यो। श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाउँदा दुनिथ वेलालगेले २९ रन जोडे। कुसल मेन्डिस ११ तथा पवन रत्नायके १० रनमा सीमित भए।
बलिङतर्फ न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए भने म्याट हेनरीले २ ओभरमा १ मेडनसहित ३ रन दिँदै २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। कप्तान मिचेल सान्टनर र **कोल म्याककन्की**बीच ८४ रनको महत्वपूर्ण साझेदारी भएको थियो। सान्टनरले २६ बलमा ४७ रन बनाए। रचिन रविन्द्रले ३२, फिन एलेनले २८ तथा ग्लेन फिलिप्सले १८ रन जोडे। श्रीलंकाका लागि महीश थीक्ष्णा र दुष्मन्थ चमीरा ले ३–३ विकेट लिए भने वेलालगेले १ विकेट लिए।
लगातार दोस्रो हारसँगै समूह २ मा रहेको श्रीलंका अङ्कविहीन बनेको छ। यसअघि इङ्ग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोलीसँग पनि पराजित भएको थियो। सन् २०१४ मा टी–२० विश्वकप जितेपछि श्रीलंका सेमिफाइनल पुग्न सकेको छैन।
पहिलो जित निकालेको न्युजिल्यान्ड ३ अङ्कसहित समूहको दोस्रो स्थानमा उक्लिएको छ भने दुई खेल जितेर ४ अङ्क जोडेको इङ्ग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ। अब न्युजिल्यान्डले अन्तिम खेल इङ्ग्ल्यान्डसँग खेल्नेछ। उक्त खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनल पुग्नेछ।
यसैबीच विश्वकपअन्तर्गत आज वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली र दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीबीच दिउँसो ३:१५ बजे अहमदाबादमा प्रतिस्पर्धा हुनेछ भने बेलुकी ७:१५ बजे चेन्नईमा भारत राष्ट्रिय क्रिकेट टोली र जिम्बाब्वे राष्ट्रिय क्रिकेट टोली आमनेसामने हुनेछन्।







