कैलाली — नेपाली कांग्रेस ले सातै प्रदेशमा ठूला चुनावी सभाको तयारी गरिरहेको भए पनि सुदूरपश्चिम प्रदेशमा भने तय गरिएको आमसभा स्थगित गरेको छ। भोलि कर्णालीको सुर्खेत र लुम्बिनीको नेपालगन्ज मा केन्द्रीय नेताहरूको चुनावी कार्यक्रम तय भए पनि सुदूरपश्चिममा आयोजना गर्ने भनिएको सभा अन्तिम समयमा रोकिएको हो।
पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि र समन्वय अभावका कारण प्रदेशस्तरीय आमसभा प्रभावित भएको जनाइएको छ। विशेषगरी सुदूरपश्चिममा प्रभाव राख्ने नेता शेरबहादुर देउवा को सहभागिता नहुने संकेतपछि प्रदेश र जिल्ला तहमा कार्यक्रमप्रति उत्साह नदेखिएको बताइएको छ। प्रदेश तथा जिल्लाका नेतृत्व तहबाट अपेक्षित समर्थन नपाएपछि कार्यक्रम स्थगित गरिएको हो।
यसअघि कैलालीको अत्तरिया वा धनगढी क्षेत्रमा आमसभा गर्ने तयारी थियो र त्यसका लागि आन्तरिक छलफल तथा व्यवस्थापनका कामसमेत अघि बढाइएको थियो। तर उम्मेदवारहरूको व्यस्तता, समय अभाव र संगठनभित्रको मतभेदका कारण कार्यक्रम टरेको बताइएको छ।
सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा टिकट वितरणको विषयलाई लिएर असन्तुष्टि देखिएको छ। पछिल्लो समय पार्टीभित्र देखिएको गुटगत तनाव र नेतृत्वबीचको दूरीका कारण प्रदेशमा एकताबद्ध चुनावी माहोल बनाउन चुनौती देखिएको छ।
स्थगित कार्यक्रमको नयाँ मिति भने तय भएको छैन।







