काठमाडौँ – आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले आईओसी बाट उच्च दरमा ग्यास लोडिङ गरिरहेको जनाएको छ।
निगमका अनुसार मंगलबार यस वर्षकै सबैभन्दा बढी परिमाणमा ग्यास लोड भएको छ। एकै दिन १३८ बुलेट ग्यास लोड भएको जानकारी दिँदै निगमले यो परिमाण करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हुने जनाएको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले निर्वाचन अवधिमा पनि ग्यास आपूर्ति नियमित रहने बताउँदै उपभोक्तालाई ढुक्क रहन आग्रह गर्नुभएको छ। बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन भण्डारण तथा वितरण प्रणालीलाई चुस्त राखिएको निगमले जनाएको छ।







