आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणमा बुधबार न्युजिल्याण्ड र श्रीलंका आमनेसामने हुँदैछन्। खेल श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे सुरु हुनेछ। सुपर–८ मा दुवै टोली समूह ‘बी’ मा रहेका छन्। सेमिफाइनलको सम्भावना जीवित राख्न आजको खेल दुवैका लागि ‘गर या मर’ को अवस्थामा छ।
न्युजिल्याण्डले सुपर–८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीसँग अंक बाँडेको थियो। यता श्रीलंका भने पहिलो खेलमा इंग्ल्याण्ड राष्ट्रिय क्रिकेट टोलीसँग पराजित भएको थियो। आजको खेल जित्न सके दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायम रहनेछ। यस समूहबाट इंग्ल्याण्डले भने यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। अब न्युजिल्याण्ड, श्रीलंका र पाकिस्तानमध्ये एक टोली अन्तिम चारमा पुग्नेछ।
एक खेल रद्द र एक हार व्यहोरेको पाकिस्तानलाई सेमिफाइनल यात्रा कठिन देखिएको छ। उसले अब आफ्नो अन्तिम खेल श्रीलंकासँग खेल्नेछ।







