काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यू जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताउनुभयो। निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उहाँले सरकारका यस्ता कदमले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको आरोप लगाउनुभयो।
समाजमा विभिन्न बहानामा चुनाव सार्ने भ्रामक हल्ला फैलिएकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै निर्वाचन सम्पन्न हुनुपर्ने आफ्नो अडान दोहोर्याएको छ।








