इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ।
आज इटहरीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गर्दै देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गर्नुभयो। सभापति लामिछानेले निर्माण व्यवसायीहरूलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिनुभयो।
यसैबीच उहाँले नेपाली कांग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्षमा बस्न सुझाव दिनुभएको छ। थापाप्रति कटाक्ष गर्दै उहाँले सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछि विकल्प बन्न सकिने बताउनुभयो। साथै आगामी पाँच वर्ष सरकार रास्वपाले सञ्चालन गर्ने दाबीसमेत उहाँले गर्नुभयो।







