काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्री भण्डारी ‘साम्बा’को उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडी उपचार कोषमा पार्टीका तर्फबाट उक्त रकम उपलब्ध गराउने जानकारी गराएको बताएका छन्। उनले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएकी खेलाडी साम्बालाई यो कठिन समयमा सबैले साथ दिनुपर्ने उल्लेख गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
साम्बाले सोमबार आफ्नो उपचारका लागि सहयोगको अपिल गर्दै सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गरेपछि विभिन्न क्षेत्रबाट सहयोगको घोषणा हुन थालेको हो। यद्यपि एन्फा र सरकारको तर्फबाट ठोस पहल नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
यसअघि काठमाडौँ मेडिकल कलेजले नेपालमै उपचार गराउन चाहेमा निःशुल्क उपचार गरिदिने घोषणा गरेको थियो भने एन्फाका पूर्व अध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्व कप्तान गणेश थापाले ५० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन्।
साम्बाको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।








