प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न आयोगको आह्वान

काठमाडौँ – निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग नगर्न आह्वान गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै दल वा उम्मेदवारले आफ्नो झण्डा वा चुनाव चिह्न बोक्ने कार्य, सांस्कृतिक कार्यक्रम, र्‍यालीलगायत गतिविधिमा बालबालिकालाई सहभागी नगराउन आग्रह गरेको हो।

आयोगका अनुसार चुनावी अभियानका क्रममा बालबालिका प्रयोग गरिएको तथा विद्यालय समयमै विद्यालय नजिक चुनावी कार्यक्रम आयोजना गर्दा शैक्षिक क्रियाकलापमा अवरोध पुगेको भन्ने उजुरी तथा गुनासो प्राप्त भएका छन्। सोही आधारमा यस्ता गतिविधि नगर्न सचेत गराइएको हो।

निर्वाचन आचारसंहिता २०८२को दफा १३ उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था रहेको छ। आचारसंहिता उल्लङ्घन भएको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्न वा उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्