काठमाडौँ – काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व सुरु भएको छ। आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो। रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको झन्डै ३२ फिट अग्लो बाँसको तीनखण्डे चीर ठड्याइएको थियो। त्यसपछि चीरको परिक्रमा गर्दै एकआपसमा अबीर छ्यापी हर्षोल्लासका साथ होली खेल्न थालिएको छ।
यस अवसरमा गुरुजुको पल्टनले हर्षबढाइँ गरेको थियो भने चीर उठाइएको दृश्य हेर्न वसन्तपुर क्षेत्रमा सर्वसाधारणको उल्लेख्य भीड लागेको थियो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठड्याएसँगै फागुन शुक्ल अष्टमीदेखि काठमाडौँ उपत्यकालगायत देशभर होलीको रौनक सुरु हुने परम्परा छ। तीनतले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर दहन गरेपछि होली पर्व सम्पन्न भएको मानिन्छ।
यस वर्ष होली काठमाडौँलगायत पहाडी जिल्लामा फागुन १८ गते तथा तराई–मधेशका जिल्लामा फागुन १९ गते परेको छ। सरकारले होली पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।








