मौन योद्धा: एक बुबाको कथा – निशा पोखरेल

मौन योद्धा: एक बुबाको कथा – निशा पोखरेल

आमालाई धर्ति भन्न मिल्ने भए बुबालाई सूर्य भन्न मिल्ला कि नमिल्ला ? धर्तिले बिरुवा उत्पादन गर्छ र त्यस बिरुवालाई सूर्यले किरण र ताप दिनेकाम गर्छ । त्यहि तापका कारणले त बिरुवाले आफ्नो खाना बनाउँछ, फुलाउँछ र फल फलाउँछ । सुर्यको अनुपस्थितीमा प्राणी जगतको स्थिती के हुन्छ होला ?

म सोच्छु, सन्तानको लागि आमा उजेली र बुबा ग्रहण किन भएको होला ? बुबा कठोर, कडा रिसाह, छुच्चो र झगडालु जस्तो किन देखिएको होला ? मनमा केहि कुराहरु नलिउँ भन्दा भन्दै पनि, यस्ता प्रश्नले मलाई सोच्न वाध्य बनाइरहन्छ ।

सामाजिक बन्धन, परिवारको जिम्मेवारी, श्रीमतीको खुसी, सन्तानको भविष्य प्रतिको चिन्ता, र आफ्नै परिवेशले होलाकि खै बुबालाई कठोर बनाएको । बुबालाई पनि लाग्दो हो मलामी जाँदा किन पुरुषलाईमात्र पठाएको होला, कपाल खौरनु पर्ने बाध्यता, खालि खुट्टा आफु हिँडेर परिवारलाई जुत्ता किनिदिने रहर, घरको ऋण र साहुको जमानीको जिम्मा किन पुरुषले मात्रै लिनुपर्ने होला खै !

धेरै मान्छेहरुको इन्टरभ्यू र लेखहरु हेर्छु र एकान्तमा कहिले काहिँ सोच्छु, सन्तानको नजरमा आमा हिरोइन र बुबा भिलेन किन बनेको होला ! आफ्नो सन्तानलाई सम्झाउदा, गल्तिमा गाली गर्दा, खाना खान र सुत्न बेलामा घर आउ भनेर बुबाले छोराछोरीलाई सतर्क बनाउँदा बुबा देखी आमालाईपनि किन रिस उठेको होला ।

घर पाल्नु पर्ने रे, समाजको अगाडी परिवारका सदस्यहरुको शिर ठाडो बनाउनु पर्ने रे, आफन्त र कुटुम्बहरुको सामु दहे भएर उभिनु पर्ने रे ! ए बाबा ! मलाई अचम्म लाग्छ, बुबालाईमात्र सामाजिक दाइत्व र जिम्मेवारीले किन थिचेको होला ? प्राय देख्ने गरेकी छु परिवारको खुसिको लागि वषौसम्म बिदेशिएका बुबाहरु । सन्तानको विवाह, ब्रतबन्ध र परिवारको शोकमा पैसा पठाएर दुःख सुःख भिडियोमा हेरेर चित्त बुझाउन बाध्य भएका बुबाहरु । परदेश गएर ४-५ वर्षमा एक महिनाको छुट्टिमा पाहुना बनि घर आएका र फेरी ३-४ बर्षको लागि परदेश नै गएर उतै हराएका बुबाहरुका कथाहरु सुनेकी छु ।

आफूले भोगेका कष्ठ सन्तानले नभोगुन, दु:ख पिडा नपाउन, कसैका अगाडी शिर नझुकोस् भनेर बुबाहरुले गरेको दु:खको मर्म कहिले कसले बुझ्ने ? समाजमा हुने हरेक गतिविधीमा, हरेक परिस्थिति र उकाली ओरालीहरुमा कहिल्यै नझुक्ने र नथाक्ने अम्मरसिंह र बलभद्र जस्ता योद्धा सन्तान बनाउन खोजेको चाहानाको मुल्याङ्कन कहिले हुने ?

मैले आफ्नै बुबाको आँखामा पनि न खुसिले हौसियको आसु देखेको छु, न दुःखमा अत्तिएर रोएको । मुसुक्क मुस्कुराउने मुस्कान भित्र र नबोली गमिलो भएर हेर्ने गम्भिर अनुहार भित्र धेरै परिकल्पनाहरु गरेकी छु । बुबा खुलेर नहाँस्नुको कारण पक्कै मन नभएर त हैन होला ?
समग्रमा छोरा छोरीलाई समस्या पर्दा आमा, आमालाई समस्या पर्दा बुबा, तर बुबालाई समस्या पर्दा को हुन्छ होला ? मैले बुबालाई यी प्रश्न सोध्दा बुबा मौन देख्छु, सायद बुबासँग उत्तर नभएर होला ! मैले यस्तै सोच्छु । बुबा धर्ति जस्तै विशाल, समुन्द्र जस्तै गहिरो, सूर्य जस्तै तातो भएर होला श्रृष्टी चलेको ।

लेखकः निशा पोखरेल, जनसम्पर्क प्रमुख (पब्लिक रिलेशन हेड), नेरीक एकेडेमी, शंखमूल, काठमाडौँ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्