टुरिस्ट उम्मेदवार भन्दा स्थानीय पात्र उपयुक्त भन्दै रास्वपा नेतृद्वारा कविर राणालाई समर्थन

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुरकी महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पुजा वस्नेत विश्वकर्माले भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार कविर राणालाई विजयी गराउन आह्वान गरेकी छन्।

सोमबार बालकोटमा आयोजित चुनावी सभामा बोल्दै उनले आफू रास्वपाको स्थापनाकालदेखिको सदस्य भए पनि पार्टीभित्र अवसरवादी प्रवृत्ति हाबी भएको आरोप लगाइन्। “म रास्वपाको सदस्य हुँ, तर आफ्नो पार्टीभित्र देखिएका गलत प्रवृत्तिका बारेमा बोल्न पनि आएको हुँ,” उनले भनिन्, “नयाँ शक्तिलाई विश्वास गर्नुपर्छ भनेर लाग्यौँ, तर नयाँभित्र पनि धेरै खराब र अवसरवादी पात्र देखिए।”

उनले आफ्नो परिवार नेपाली कांग्रेसको विचारसँग निकट रहेको उल्लेख गर्दै भक्तपुरको विकासका लागि कविर राणा उपयुक्त उम्मेदवार रहेको दाबी गरिन्। “कुनै व्यक्तिगत स्वार्थका लागि होइन, भक्तपुरको भविष्यका लागि म यहाँ उभिएको हुँ,” उनले भनिन्।

उनका अनुसार उम्मेदवारले स्थानीय भूगोल, संस्कृति र जनभावना बुझ्नुपर्ने हुन्छ। उनले रास्वपाका उम्मेदवार राजीव खत्रीप्रति संकेत गर्दै बाहिरबाट आएका व्यक्तिले भक्तपुरको प्रतिनिधित्व प्रभावकारी रूपमा गर्न नसक्ने तर्क गरिन्। “यदि हामीले चिन्ह मात्रै हेरेर मतदान गर्‍यौँ भने भक्तपुर पछाडि धकेलिने खतरा हुन्छ,” उनले भनिन्।

कविर राणाले विगतमा लोकतान्त्रिक आन्दोलनका क्रममा जेल जीवन बिताएको उल्लेख गर्दै उनले उनलाई कर्मठ र योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरिन्। “पार्टीभन्दा माथि उठेर राम्रो मान्छे छान्ने बेला आएको छ,” उनले भनिन्, “कविर राणा दाईलाई जिताउनु भनेको भक्तपुरको भविष्य सुरक्षित गर्नु हो।”

उनले आफूले व्यक्त गरेको धारणा पार्टीविरुद्ध नभई मतदातालाई सचेत गराउने उद्देश्यले राखिएको स्पष्ट पारिन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्