काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिएपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन्।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले सरकारको नेतृत्व गर्दा मात्रै विकासका काम तीव्र रूपमा अघि बढ्ने र सरकार छाडेपछि देशमा काम ठप्प हुने दाबी गरे। आफूले काम गर्न थालेपछि विरोधीहरू आत्तिने र काम रोक्नका लागि सरकारबाट हटाउने प्रयास हुने उनको भनाइ थियो।
‘मैले काम गर्न थाल्छु, व्यापक काम भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन्। काम रोक्न मलाई सरकारबाट हटाइन्छ, काम बन्द हुन्छ र फेरि म आउनुपर्छ,’ उनले भने।
आफू पुनः सरकारको नेतृत्वमा फर्किएपछि विकासले गति लिने उल्लेख गर्दै उनले देशलाई अघि बढाउन आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गरे। ‘म सरकारमा आउनेबित्तिकै देश कुद्छ, मैले छाडेपछि देश जहाँको त्यहीँ बस्छ,’ ओलीको भनाइ थियो।
ओलीले आफू पुनः उम्मेदवार बनेको कारणबारे प्रष्ट पार्दै अधुरा विकासका काम पूरा गर्नका लागि चुनावमा होमिएको बताए।
उनले भने, ‘धेरै काम भएको छ, तर अझै धेरै गर्न बाँकी छ। अधुरा काम पूरा गर्नका लागि नै फेरि उम्मेदवार बनेको हुँ।’







