धादिङ बस दुर्घटनाबारे छानबिन समिति गठन गर्ने सरकारको निर्णय

तस्बिरः नेपाल टैलिभिजन

काठमाडौँ । धादिङमा भएको भीषण बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा आज बसेको उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सुरक्षा निकायका प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए । बैठकले यातायात क्षेत्रको नियमनलाई प्रभावकारी बनाउने, नियामक निकाय र बस व्यवसायी समितिलाई जिम्मेवार बनाउने निर्णयसमेत गरेको छ ।

गृहमन्त्री अर्यालले दुर्घटनामा घाइते भएकाहरूको उद्धार र उपचारलाई पहिलो प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । साथै यस्ता प्रकृतिका घटना पुनः दोहोरिन नदिन सडक सुरक्षासम्बन्धी कानूनको कडाइका साथ कार्यान्वयन गर्न र नियमनलाई थप प्रभावकारी बनाउन जोड दिएका छन् ।

चुनावी सुरक्षाको संवेदनशील समयमा यस्ता घटनाले थप चुनौती सिर्जना गर्न सक्ने उल्लेख गर्दै उनले सबै सरोकारवालालाई चनाखो र जिम्मेवार भएर लाग्न आग्रह गरेका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदी नजिकै गएराति भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेहरूको धादिङ र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्