त्रिशूली किनारमा बस खस्दा १९ जनाको मृत्यु, ९ जनाको सनाखत

तस्बिरः नेपाल टैलिभिजन

 

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सोमबार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु भएका अन्य १० जनाको पहिचान अझै खुल्न सकेको छैन।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये एक जना विदेशी नागरिकसहित ९ जनाको सनाखत भएको छ। ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, कास्की पोखरा महानगरपालिका–३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँ व्यास नगरपालिका–४ का ४० वर्षीय ओमकुमार मल्ल र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन्।

यस्तै तनहुँ शुक्लागण्डकी नगरपालिका–७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँ भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पा तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ।

सनाखत हुन बाँकी रहेका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन्। तीमध्ये एक पुरुषको उपचारका क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

दुर्घटनाका बेला बसमा चालकसहित ४४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ, जसमा २९ जना पुरुष र १५ जना महिला थिए। राति करिब १:३० बजे दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली तथा स्थानीयको सहकार्यमा उद्धार कार्य गरिएको थियो।

दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइतेलाई काठमाडौं ल्याई राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना, कलंकीस्थित नेशनल मेडिकल कलेजमा १० जना र मलेखुस्थित टिचिङ अस्पतालमा १ जनाको उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान जारी रहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्