धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।
पोखराबाट काठमाडौँका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस गएराति करिब साढे १ बजे त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै ज्यान गएको छ। ज्यान गुमाउनेमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेको प्रहरीको भनाइ छ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनामा घाइते भएका २६ जनाको उद्धार गरी अस्पताल पठाइएको छ। केही घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अवस्थाका धेरैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट सबै घाइतेको उद्धार गरिएको जानकारी दिएको छ।








