काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले यस्तो आग्रह गरेको हो। निर्वाचन आचारसंहिता, २०८२ लागू भएको उल्लेख गर्दै आयोगले आचारसंहिताको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ।
आयोगका अनुसार सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षबाट आचारसंहिताको पालना भइरहेको छ कि छैन भन्ने विषयमा अनुगमन भइरहेको छ। स्थानीय तहका केही जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्दै उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आचारसंहिताअनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्ने भए पनि सरकारी स्रोत–साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ। साथै आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ।







