रेसुङ्गा विमानस्थलमा अब सातामा तीनपटक मात्र उडान

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटक मात्र हवाई उडान गरिने भएको छ। नेपाल वायु सेवा निगमले यसअघि बिहीबारसमेत हुँदै आएको उडान तालिकामा परिवर्तन गरेको हो।

निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो। तालिका परिवर्तनसँगै अब आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीनपटक मात्र उडान हुने रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।

निगमसँग हाल तीनवटा मात्र ट्वीनअटर जहाज रहेकाले ती जहाज समय–समयमा मर्मत गर्नुपर्ने अवस्थाका कारण जहाज अभाव हुँदा केही समयका लागि नियमित तालिकामा परिवर्तन गरिएको जनाइएको छ। वर्षात्, खराब मौसम र बाक्लो हुस्सु बाहेक पछिल्ला तीन महिनादेखि विमानस्थलमा नियमित उडान हुँदै आएको थियो।

रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत काठमाडौँबाट बिहान ६ः३० बजे उडान भई रेसुङ्गाबाट बिहान ७ः३० बजे काठमाडौँका लागि उडान हुँदै आएको छ। निगमले काठमाडौँ–गुल्मीका लागि रु सात हजार ५०० र गुल्मी–काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको छ। दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक कारण बिहान मात्रै उडान हुने गर्दछ।

हवाई सेवा सुरु भएसँगै जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यसअघि राजधानी पुग्न अठार घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अब ४५ मिनेटमै काठमाडौँ पुग्न सकिने भएपछि स्थानीयवासीलाई सहज भएको छ। यद्यपि यात्रुको चाप बढ्दो भए पनि उडान सङ्ख्या सीमित र तालिका परिवर्तन भइरहँदा नागरिकले समस्या भोग्दै आएका छन्।

जिल्लामा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरु गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्