कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेलाको तयारी पूरा भएको छ। यही फागुन १३ र १४ गते आयोजना हुने मेलालाई व्यवस्थित र सुरक्षित बनाउन मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा आवश्यक व्यवस्थापनका कार्य सम्पन्न गरिएको छ।
वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेलालाई मर्यादित र सुरक्षित बनाउन पूर्वतयारीलाई तीव्रता दिइएको हो। मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सरसफाइ गर्ने तथा आवश्यक संरचना मिलाउने काम सकिएको समितिले जनाएको छ।
दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ। शान्ति सुरक्षा सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी मेला अवधिभर कडा सुरक्षा व्यवस्था गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई मन्दिरमा दर्शनका लागि प्राथमिकता दिने निर्णय गरिएको छ।
हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा मेला लाग्ने परम्परा छ। मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ। धार्मिक तथा पर्यटकीय दृष्टिले जिल्लाकै महत्त्वपूर्ण गन्तव्यका रूपमा मुडकालाई लिइन्छ। बैजनाथ बाबाको दर्शन गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास रहिआएकाले मेलामा नेपाल र भारतका हजारौँ दर्शनार्थी सहभागी हुने गर्दछन्। यस अवसरमा व्यापारीको ठूलो जमघटसमेत हुने गर्दछ।
मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर तथा मन्दिर नजिकै तलाउ रहेको छ। मन्दिर परिसर नजिकै करिब दुई करोड रुपैयाँभन्दा बढीको लागतमा आधुनिक शैलीको भजनघर निर्माण गरिएको छ भने पहिलोपटक मन्दिर क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको छ।
पूर्व–पश्चिम राजमार्गबाट झण्डै ११ किलोमिटर उत्तर चुरे फेदीमा अवस्थित यो क्षेत्र प्राचीनकालदेखि नै पहाडी क्षेत्रबाट चौपायासहित हिउँदमा बसाइँ सर्नेहरूको आश्रयस्थलका रूपमा परिचित रहेको स्थानीय बासिन्दा बताउँछन्।







