रौतहट – जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा जारी कर्फ्यू आदेशलाई आज बिहान साढे ८ बजेसम्मका लागि खुकुलो पारेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यू आदेशलाई निरन्तरता दिएका हुन्।
प्रशासनले अत्यावश्यक कामका लागि आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म दुई घण्टा कर्फ्यू केही खुकुलो पारिएको जनाएको छ। बिहान साढे ८ बजेपछि भने अर्को आदेश नआउँदासम्म पुनः कर्फ्यू यथावत् रहने सूचनामा उल्लेख गरिएको छ।
यसैबीच केन्द्रीय सुरक्षा समितिको बैठकले रौतहटमा भएको घटनाका सन्दर्भमा सबै पक्षलाई आपसी सद्भाव कायम गर्न आह्वान गरेको छ। साथै जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन सम्बन्धित सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।







