काठमाडौं- शंखमूलस्थित नेरिक एकेडेमीमा छैटौँ “नेरिक लिटल आइकन-२०८२” भव्य रूपमा सम्पन्न भएको छ। शिक्षा तथा अतिरिक्त क्रियाकलापमार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेरिक किन्डरवर्ल्डका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयका प्रिन्सिपल मिलन केसीको अध्यक्षता तथा पूर्वाञ्चल विश्वविद्यालयको पूर्व सिनेटर शिक्षाा विद्, बाल मनोपरामर्शदाता तथा कादम्बरी कलेजकी प्रमुख प्रदिप्ता कादम्बरीको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
कार्यक्रममा किन्डरगार्डेनका स-साना बालबालिकाले सांस्कृतिक तथा शैक्षिक सन्देश झल्किने आकर्षक र्याम्प वाक प्रस्तुत गरेका थिए। साथै विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले विभिन्न नृत्य प्रस्तुत गरी कार्यक्रमलाई अझ रोचक बनाएका थिए। शनिबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। किन्डरगार्डेनका बालबालिकासँगै कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले पनि नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। निर्णायको रुपमा वाउ फेसनबाट फेसन डिजाइनर पुष्पा थुलुङ् राई चालिसे र नायिक तथा चलचित्रकर्मी रागिनी केसी रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अभिभावक अनुजमान बज्राचार्यले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वांगीण विकासमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गरे। उनले विद्यालयले मादल, बाँसुरी बजाउनेदेखि विभिन्न अवसरमा कार्यक्रम आयोजना गर्दै विद्यार्थीको आत्मविश्वास, शारीरिक क्षमता र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए। “यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, शारीरिक क्षमता र अनुशासनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ,” उनले उल्लेख गरे।

त्यस्तै विद्यालयका प्रिन्सिपल मिलन केसीले नेरिक एकेडेमी विद्यार्थी उत्पादन गर्ने मात्र ठाउँ नभई उनीहरूको सम्भावनालाई उजागर गर्ने पवित्र स्थल भएको बताए। विद्यालयले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै इन्स्योरेन्सको व्यवस्था गरेको जानकारी दिँदै उनले विभिन्न क्षेत्रलाई मध्यनजर गर्दै विद्यालय अघि बढिरहेको बताए। “यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई डरबाट माथि उठ्न प्रेरित गरेको छ। अभिभावकहरूको सुझावलाई आत्मसात गर्दै विद्यालय परिवर्तनका लागि सधैं तयार छ,” उनले भने। साथै नर्सरीका विद्यार्थीले आफ्नो नाम लिँदा आफू भावुक बनेको अनुभव पनि उनले सुनाए।
कार्यक्रमको समापनमा लक्की ड्रमार्फत चार जना अभिभावकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।









