यूनिटीको २४ औँ वार्षिकोत्सवको अवसरमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुरः सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेमा रहेको युनिटी इङ्ग्लिस स्कुलले आफ्नो स्थापनाको २४ औँ वार्षिकोत्सवको अवसरमा एक दिने ‘अभिभावक अभिमुखीकरण कार्यक्रम–२०८२’ सम्पन्न गरेको छ। योयो बैक्वेटमा सम्पन्न उक्त विशेष अभिमुखीकरण कार्यक्रममा करिब ३४१ जना अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। नेश्नल प्याप्सन भक्तपुरका अध्यक्ष सन्जय खड्काज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले युनिटी इङ्ग्लिस स्कुलले स्थापना कालदेखि नै सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र हालसम्म पनि सोही उद्देश्यमा अडिक रहन सफल भएकोमा प्रशंसा व्यक्त गर्नुभयो।

उहाँले पछिल्ला वर्षहरूमा विद्यालयले शैक्षिक उपलब्धि तथा एसईई र बिएलई नतिजामा ४.० समेत ल्याउन सफल भएकोमा बधाई दिनु भयो । विद्यालयको उत्कृष्ट व्यवस्थापन र सबल नेतृत्वका कारण आज यूनिटी स्कुल कटुन्जे क्षेत्रकै प्रमुख आकर्षणको केन्द्र बनेको बताउँदै अभिभावकहरूले गुणस्तरीय शिक्षाका लागि अन्यत्र टाढा जानु नपर्ने वातावरण सिर्जना भएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख वक्ता, चर्चित उत्प्रेरक एवं मनोपरामर्शकर्ता डा. रविन कटवालले संस्कारसहितको शिक्षा र असल अभिभावकत्वका विषयमा विशेष प्रशिक्षण प्रदान गर्नुभयो।

 

उहाँले बालबालिकालाई घरैबाट कसरी संस्कार सिकाउन सकिन्छ भन्ने बारे चर्चा गर्दै अभिभावक, विद्यालय र विद्यार्थी बीचको त्रिकोणात्मक सम्बन्धको महत्वमाथि प्रकाश पार्नुभयो। डा. कटवालले बालबालिकामा पढाइप्रति अभिरुचि जगाउन अभिभावकले उनीहरूलाई पर्याप्त समय दिनुपर्ने, उनीहरूको व्यवहार र सङ्गतमा ध्यान दिनुपर्ने तथा सकारात्मक वातावरण निर्माण गर्नुपर्ने जस्ता व्यवहारिक पक्षहरूका बारेमा जानकारी गराउनुभयो।

उक्त अभिभावक अभिमुखीकरण कार्यक्रममा विद्यालयका प्रिन्सिपल विपिन गुमान्जुले विद्यालय २४औँ वर्षमा प्रवेश गर्न सफल भइरहँदा हालसम्म अटुट विश्वास र हौसला प्रदान गर्ने सम्पूर्ण अभिभावकवर्ग प्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्नुभयो। उहाँले चालु शैक्षिक सत्र २०८२ को सुरुवातदेखि नै विद्यार्थीको पढाइ र सिकाई प्रक्रियालाई अतिरिक्त क्रियाकलापसँग प्रभावकारी रूपमा जोड्न सफल भएको बताउनुभयो। यस्ता क्रियाकलापले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन हुनुका साथै उनीहरूको व्यवहारिक ज्ञान र सिकाई स्तरमा उल्लेखनीय वृद्धि भएको उहाँको भनाइ थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्