अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले आउँदो मार्च ६ तारिखमा चार अन्तरिक्षयात्रीसहितको आर्टेमिस–२ यान प्रक्षेपण गर्ने घोषणा गरेको छ । सन् १९७२ मा अपोलो–१७ मिसनमा अन्तिम पटक मानव चन्द्रमाको सतहमा पुगेको थियो । त्यसयता पहिलो पटक मानवसहितको अन्तरिक्षयान चन्द्रमाको परिक्रमा गर्ने यो मिसनले अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय शुरू गर्ने अपेक्षा छ ।
अपोलो कार्यक्रम सन् १९७२ मा समाप्त भएपछि चन्द्रमाको अन्वेषण लामो समयसम्म रोकियो । शीतयुद्धको समाप्तिपछि अन्तरिक्ष दौडको राजनीतिक र आर्थिक प्राथमिकता घट्दै गयो र अमेरिकाले आफ्नो ध्यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र मङ्गल ग्रह अन्वेषणतर्फ केन्द्रित गर्याे । यसका साथै चन्द्र अभियानको अत्यधिक लागत र प्राविधिक जटिलताले पनि दशकौँसम्म मानवयुक्त चन्द्र अभियान सम्भव हुन सकेन ।
यस १० दिने अभियानमा तीन अमेरिकी रिड वाइजम्यान, भिक्टर ग्लोभर र क्रिस्टिना कोच तथा एक क्यानाडियन जेरेमी ह्यान्सनले चन्द्रमाको परिक्रमा गरी पृथ्वी फर्कनेछन् । यो यात्रा मानव इतिहासकै सबैभन्दा टाढाको अन्तरिक्ष यात्रा हुनेछ । नासाको ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेटमार्फत प्रक्षेपण हुने यस यानले पृथ्वीको कक्षामा एक दिन बिताएपछि चन्द्रमातर्फ प्रस्थान गर्नेछ र अन्तमा प्रशान्त महासागरमा अवतरण गर्नेछ ।
यो अभियान सफल भएमा नासाले सन् २०२८ सम्म चन्द्रमाको सतहमा मानव उतार्ने आर्टेमिस–३ मिशन सञ्चालन गर्ने लक्ष्य राखेको छ । तर विशेषज्ञहरू यो समयसीमा अत्यन्त महत्त्वाकाङ्क्षी रहेको बताउँछन् ।
आर्टेमिस–३ का लागि एलन मस्कको स्पेसएक्स कम्पनीले स्टारशिप रकेटमार्फत चन्द्र अवतरण यान बनाउने सम्झौता गरेको छ तर स्टारशिपको विकासमा ढिलाइ भएकाले नासाले जेफ बेजोसको ब्लु ओरिजिन कम्पनीलाई पनि वैकल्पिक योजना तयार गर्न लगाएको छ ।
यसैबीच अमेरिका र चीनबीच चन्द्रमाको दक्षिणी ध्रुवमा पहिला पुग्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । चीनले सन् २०३० सम्म आफ्ना अन्तरिक्षयात्री चन्द्रमामा उतार्ने लक्ष्य राखेको छ र यसका लागि निरन्तर प्रगति गरिरहेको छ । दुवै देशले चन्द्रमाको दक्षिणी ध्रुवमा आधार शिविर स्थापना गर्ने योजना बनाएका छन् जहाँ पानीको हिमको उपस्थिति भएको अनुमान गरिएको छ ।







