काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा नेपालबाट ७८ अर्ब रुपैयाँभन्दा बढीको प्रशोधित खाद्य तेल निर्यात भएको छ। यो रकम कुल निर्यातको झन्डै ४६.५ प्रतिशत हिस्सा हो। तर यो निर्यातको आधार स्वदेशी उत्पादन नभई आयातित कच्चा तेल प्रशोधन गरी पुनः निर्यात गरिएको हो।
भन्सार विभागको तथ्याङ्कअनुसार सोही अवधिमा ९३ अर्ब ७५ करोड रुपैयाँबराबरको कच्चा खाने तेल आयात भएको छ। यसमध्ये अधिकांश अर्जेन्टिना, ब्राजिल र युक्रेनबाट आयात गरिएको भटमासको तेल रहेको छ।
दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र सम्झौताअन्तर्गत भारततर्फ निर्यात गर्दा भन्सार छुट पाइने भएकाले हालसम्म यो व्यापार फाइदाजनक देखिएको छ। तर अर्थविज्ञहरूका अनुसार यसले नेपालभित्र उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान गरेको छैन।
अब भने यो व्यापार नै सङ्कटमा पर्ने संकेत देखिएको छ। भारत र अमेरिकाबीच आगामी मार्चभित्र द्विपक्षीय व्यापार सम्झौता हुने तयारी भइरहेको छ। यदि अमेरिकी प्रशोधित तेल भारतमा शून्य भन्सारमा प्रवेश गर्न पाउने व्यवस्था भयो भने नेपालको खानेतेल निर्यात प्रतिस्पर्धामा टिक्न नसक्ने र ठप्प हुन सक्ने जोखिम रहेको विज्ञहरूको भनाइ छ।
दीर्घकालीन र दिगो निर्यात वृद्धिका लागि नेपालले अलैँची, गलैँचाजस्ता स्वदेशी उत्पादनको उत्पादन वृद्धि, ब्रान्डिङ र बजार व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।







