काठमाडौं । सुशीला कार्कीले आसन्न निर्वाचनको सन्दर्भमा हुन सक्ने सम्भावित घटना र चुनौतीलाई ध्यानमा राखी समयमै पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ।
आज रुपन्देहीको बुटवलमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली सेनाका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री कार्कीले चुनाव बहिष्कारका नाममा केही समूहले चन्दा असुली गर्ने तथा आफ्नो अस्तित्व देखाउने प्रयास गर्न सक्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्नुभयो।
आउँदो हप्ता फागुपूर्णिमा पर्ने भएकाले सुरक्षा चुनौती थपिन सक्ने तथा रुकुम पूर्वलगायत हिमाली जिल्लामा हिमपातको जोखिम रहने उल्लेख गर्दै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन उहाँले निर्देशन दिनुभयो।
तराईका केही जिल्लामा राजनीतिक दलहरूबीच झण्डा जलाउने र उक्साउने गतिविधि बढेको जनाउँदै प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई विशेष सजगता अपनाउन स्पष्ट निर्देशन दिनुभएको छ। साथै सबै राजनीतिक दल तथा सरोकारवालालाई संयम र लोकतान्त्रिक संस्कारको पालना गर्न उहाँले आग्रह गर्नुभएको छ।







