भोलि अर्किड कपको फाइनल, विद्यावाणी र एकलब्य शिक्षा सदन भिड्ने

Screenshot

काठमाडौँ – काठमाडौँको गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल चरणका खेल सम्पन्न भएसँगै फाइनल समीकरण पूरा भएको छ।

पहिलो सेमिफाइनलमा निर्मल ज्योति र विद्यावाणीबीच भएको रोमाञ्चक खेलमा विद्यावाणी ३–२ गोल अन्तरले विजयी हुँदै उपाधि नजिक पुगेको छ। उत्कृष्ट प्रदर्शनका बाबजुद पराजित टोलीका निर्मल ज्योतिका रितिक थापा मगर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा एकलब्य शिक्षा सदनले बेष्ट ग्रुप स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो। उक्त खेलमा बेष्ट ग्रुप स्कुलका सनिब दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए।

अब उपाधिका लागि हुने फाइनल खेलमा विद्यावाणी र एकलब्य शिक्षा सदनबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताबारे प्रतिक्रिया दिँदै विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व र टोली भावना विकास गरेको उल्लेख गरे।

विद्यालयका प्रिन्सिपल सिबी कार्कीले प्रतियोगितामा सहभागी सबै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको बताउँदै फाइनल खेल अझै रोमाञ्चक हुने विश्वास व्यक्त गरे।

त्यसैगरी विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयले प्रतियोगिताको सफल आयोजनाका लागि सहयोग गर्ने सम्पूर्ण विद्यालय, खेलाडी, शिक्षक, अभिभावक तथा प्रायोजकप्रति आभार व्यक्त गरे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार उपाधि विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ र चौथो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

भोलि भव्य कार्यक्रमका बीच फाइनल खेल आयोजना हुनुका साथै ‘अर्किड कप’ फुटबल प्रतियोगिताको १०औँ संस्करणको औपचारिक समापन गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्